काठमाडौं । विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु गरेको छ। विद्यालय केन्द्रित यो खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।
नेपालमा महिलामाझ सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न देशभर एचपीभी खोप अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी करिब १७ लाख किशोरीलाई खोप दिने योजना रहेको छ।
अभियान सफल बनाउन १८ हजार ९०० विद्यालयका खोप केन्द्र र ८२०० अन्य खोप केन्द्र परिचालित छन्। साथै, २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १६० स्वयंसेवक र १५ हजार ६७४ सुपरिवेक्षक संलग्न हुनेछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिएको छ। चिकित्सकहरूका अनुसार खोपपछि केही सामान्य असर देखिन सक्ने भए पनि ती असरहरू केही दिनमै आफैं निको हुने बताइएको छ।
नेपालमा हरेक वर्ष २१६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १३१३ जनाको मृत्यु हुने तथ्यांक रहेको छ। औसतमा प्रत्येक दिन चार जना महिलाले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्।