चितवन । देवघाटमा जारी महामहोत्सवमा आज अर्थविद् एवं तनहुँका प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्ले सहभागी हुनुभयो । उहाले रु. १ लाख सेवा समर्पण गर्दै मातापिता सेवाश्रमको स्थलगत भ्रमण गर्नुभयो। साथै, ३६५ कोठायुक्त मातापिता सेवाश्रमको निर्माणार्थ सहयोगीहरूसँग समन्वय गरी थप योगदान जुटाउने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा प्रमुख देवघाट महामहोत्सवक सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले सांसद वाग्लेलाई हिन्दू राष्ट्रका सम्बन्धमा स्पष्ट धारणा राख्न अनुरोध गर्नुभयो। महाराजले सोध्नुभयो, “तपाईंहरूको सबै नीति स्पष्ट देखिन्छ, तर धर्मका सम्बन्धमा किन गोलमटोल जवाफ दिनुहुन्छ? हिन्दू राष्ट्रका विषयमा के को टाउको दुखाइ हो?”
सम्बोधनका क्रममा यसको उत्तर दिँदै डा. स्वर्णिम वाग्लेले आफू कट्टर सनातनी हिन्दू भएको बताउँदै आफ्नो आमा सहित नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूको तिर्थयात्रा गरेको उल्लेख गर्नुभयो। उहाले “मेरो पार्टी धर्मका सम्बन्धमा प्रष्ट छ। हाम्रो मूल दस्तावेजमै नेपाल सनातन राष्ट्र हो भन्ने उल्लेख छ” भनि भन्नु भयो |
उहाले थप प्रस्ट्याउँदै “लुम्बिनीदेखि हिमालसम्मका बौद्ध, पूर्वका किराती तथा सम्पूर्ण हिन्दूहरूको संस्कृति र परम्परामा बाह्य शक्तिहरूले अतिक्रमण गरिरहेका छन्। अब यो अतिक्रमण बन्द हुनुपर्छ। राष्ट्रले सनातन संस्कृति र धर्मको संरक्षण गर्नु अपरिहार्य छ।” भन्नेमा जोड दिनुभयो |
सांसद वाग्लेले देशको समृद्धिका लागि चार प्रमुख क्षेत्र – ऊर्जा, कृषि, पर्यटन, र प्रविधिको व्यापक प्रयोग र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। उहाले भन्नुभयो , “हामीले हाम्रो सम्पदा र धर्मसँगै आर्थिक विकासलाई पनि मजबुत बनाउन आवश्यक छ।”
अन्त्यमा, डा. वाग्लेले देवघाट महामहोत्सवको सफलता र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो।
उहाले महोत्सव आयोजकहरू, भक्तजनहरू तथा सम्पूर्ण सनातनी धर्मावलम्बीहरूलाई धन्यवाद दिंदै, धार्मिक, सांस्कृतिक, र आर्थिक उन्नतिका लागि यस्ता महामहोत्सवहरूको निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो ।
डा. स्वर्णिम वाग्लेको उपस्थिति, सनातन धर्म र संस्कृतिको रक्षाको लागि बाह्य हस्तक्षेप रोक्नुपर्छ भन्ने स्पष्ट धारणा, तथा मातापिता सेवाश्रमका लागि सहयोग संकलनको प्रतिबद्धताले महामहोत्सवलाई थप उर्जा प्रदान गरेको छ। उहाको सहभागिताले धार्मिक पर्यटन प्रवर्द्धन र विकासको नयाँ सम्भावनाहरू खुलाउने संकेत गरेको छ।