चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ। सो अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६४.२ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ तथा ३५.८ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ५.३ प्रतिशत, विकास बैंकहरूले ४.४ प्रतिशत र वित्त कम्पनीहरूले ५.३ प्रतिशत कर्जा प्रवाह वृद्धि गरेका छन्। त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत, निर्माण क्षेत्रमा ७.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवामा ५.७ प्रतिशत, सेवा उद्योगमा ५.७ प्रतिशत, उपभोग्य क्षेत्रमा ५.८ प्रतिशत तथा कृषि क्षेत्रमा ०.०२ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा आवधिक कर्जा ३.१ प्रतिशत, मार्जिन प्रकृतिको शेयर धितो कर्जा २६.३ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ५६.६ प्रतिशत, हायर पर्चेज कर्जा ३.८ प्रतिशत, नगद प्रवाह कर्जा ४.७ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले वृद्धि भएको छ। तर, अधिविकर्ष कर्जा भने ९.८ प्रतिशतले घटेको छ।