काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी२०आई श्रृंखलामा नेपाल महिला क्रिकेट टोलीले तेस्रो पटक हारको सामना गरेको छ। नेपाललाई नेदरल्याण्ड्सले १५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १२५ रन बनाउँदै ८ विकेट गुमायो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्, तर त्यो जितका लागि पर्याप्त भएन। सम्झना खड्काले २३ रन बनाउँदा अन्य खेलाडीहरूले कम योगदान गरे।
नेदरल्याण्ड्सका बलर आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले समान २-२ विकेट लिए। इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए।
यसअघि, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा १४० रन बनायो र ९ विकेट गुमायो। नेदरल्याण्ड्सको कप्तान बाबेट डे लिडेले ४१ रनको योगदान दिइन्, भने हिथर सिगर्सले २६ रन बनाइन्। फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए।
नेपालका लागि सीता राना मगरले शानदार बलिङ प्रदर्शन गर्दै ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन्। यो उनको करियरको दोस्रो पाँच विकेट फिगर हो र सबैभन्दा राम्रो प्रदर्शन पनि हो। मनिषा उपाध्यायले २ विकेट लिएकी छिन्, भने कविता जोशी र कप्तान इन्दु बर्माले १-१ विकेट लिए।