Aafno Khabar

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन

  • आफ्नो खबर
  • February 3, 2025 प्रकाशित

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारका विषयमा उत्पन्न विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन गरिएको छ। गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो, जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरू पनि रहनेछन्।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीका अनुसार वार्ता टोलीले तत्काल छलफल प्रारम्भ गर्नेछ। मन्त्रालयले आन्दोलनरत पक्षलाई पनि आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरू लगायत सरोकारवालासँग नियमित संवाद गरी समाधानको पहल गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार केबलकार निर्माणसम्बन्धी नीति, कानुन तथा मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले सो विषयमा स्थानीय तहमा उठेका सवालहरूलाई समेट्दै सरोकारवालासँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले शान्ति सुरक्षा व्यवस्थापनसहितको समन्वय आवश्यक पर्ने भएकाले अन्य सम्बद्ध निकायहरूसँग समन्वय गरेर समस्या समाधान अघि बढाइने जानकारी दिएको छ।