काठमाडौं । अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यो घटना गत बुधबार वाशिङ्टन डिसीमा भएको विमान दुर्घटनाको केही दिन पछि मात्रै घटेको हो, जसमा ६७ जनाको ज्यान गएको थियो।
दुर्घटनामा परेको विमानमा सवार ६ जना र भुइँमा रहेको कम्तिमा एक जनाको मृत्यु भएको फिलाडेल्फिया शहरका मेयर चेरेल पार्करले पुष्टि गरेकी छिन्। उनले मृतकको संख्या बढ्न सक्ने सम्भावनाको पनि संकेत गरेकी छन्।
दुर्घटनाग्रस्त विमान लिअरजेट ५५ थियो, जुन मिसौरीमा केहीबेर रोकिएर मेक्सिकोको तिजुआनातर्फ जाँदै थियो। उडान भरेको एक मिनेटमै विमान तीव्र गतीले जमिनमा झरेको थियो। भिडियोमा विमान तल झर्दै आगो लागेको देखिन्छ। विमानले थुप्रै घरहरूलाई ठोक्किदै जमिनमा खसेको थियो।
विमानमा सवार सबैजना मेक्सिकन नागरिक थिए। यसमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र बिरामीकी आमा थिए। दुर्घटनामा १९ जना घाइते भएका छन् र उनीहरूको उपचार जारी छ।
यो घटना गत बुधबार वाशिङ्टन डिसीमा भएको विमान दुर्घटनाको केही दिन पछि मात्रै घटेको हो। त्यस दुर्घटनामा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर कम्तिमा ६७ जनाको मृत्यु भएको थियो।