Aafno Khabar

बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा

  • आफ्नो खबर
  • February 2, 2025 प्रकाशित

बाग्लुङ जिल्लामा आइएमई ग्रुपको लगानीमा इला कम्फर्ट होटल सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको उपस्थितिमा शनिबार होटलको उद्घाटन गरिएको हो।

३० करोड रुपैयाँ लगानीमा निर्माण भएको यो होटल ३ रोपनी क्षेत्रमा फैलिएको छ। होटलमा ३० वटा कोठा छन् भने यसले थ्री स्टारको मान्यता बराबरको सुविधा उपलब्ध गराउँदै आएको छ। होटलका अध्यक्ष सचिन ढकालका अनुसार कोठाहरूमा पाँच स्टार होटल बराबरका सुविधा उपलब्ध छन्।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले यो होटल आफ्नी आमाको घरको रूपमा स्थापना गरेको बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि परिवारसहित बाग्लुङ आउँदा एउटै होटलमा ठाउँ नपुगेको घटनालाई सम्झाउँदै उनले भने, “त्यसबेला आमाले एउटा घर भएको भए हामी सँगै बस्थ्यौं भन्नुभएको थियो। त्यही विचारले प्रेरित भएर यो होटल आमाको घरका रूपमा स्थापना गरेका हौं।”

होटल उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले पर्यटन क्षेत्रमा निरन्तर लगानी बढाउने बताए। उनले सातै प्रदेशमा ठूला पूर्वाधार निर्माण गर्ने योजना रहेको जानकारी दिँदै सरकारले गरेको कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहित गरेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बाग्लुङमा सुविधा सम्पन्न होटल सञ्चालनले पर्यटन क्षेत्रमा आशाको किरण देखाएको बताए। उनले भने, “यो होटल मात्र होइन, आशाको उद्घाटन पनि हो। यसले पर्यटन क्षेत्रको भविष्य उज्ज्वल देखाएको छ।”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, सांसद दीपक गिरी लगायतका वक्ताहरूले यस होटलले बाग्लुङको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले निजी क्षेत्रलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

पोखरा विमानस्थलबाट मात्र १.५ घण्टाको दूरीमा रहेको इला कम्फर्ट होटलले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि सुविधाजनक पहुँच उपलब्ध गराएको छ। यो होटल इला ब्राण्डको विस्तार रणनीतिको पहिलो चरण हो भने नवलपरासीको गैँडाकोटमा दोस्रो होटल सञ्चालन गर्ने तयारी भइरहेको छ। आइएमई ग्रुपले नेपालका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना बनाएको छ।