Aafno Khabar

अछाममा जंगलमा मृत फेला परे किशोरी, घटनाबारे अनुसन्धान जारी

  • आफ्नो खबर
  • January 26, 2025 प्रकाशित

अछामको ढकारी गाउँपालिका-८ का दुई किशोरी जंगलमा मृत फेला परेका घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्का शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका थिए। शनिबार साँझ सात बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार जंगलतर्फ गएका किशोरीहरू सम्पर्कविहीन भएपछि स्थानीयले खोजी गरेका थिए। शनिबार साँझ उनीहरूलाई जंगलमै मृत फेला पारिएको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली शनिबार राति ९ बजे घटनास्थल पुगेको थियो।

आइतबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय मंगलसैन, सशस्त्र प्रहरी बल, र अन्य सुरक्षा निकायका टोली घटनास्थलमा पुगे। जिल्ला प्रहरी कार्यालयका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको छ। उनले घटनाको छानबिनका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुरसमेत ल्याइएको बताए।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले घटनालाई वीभत्स रहेको बताएका छन्। उनका अनुसार शवको अवस्थाले घटना साधारण नभएको देखिन्छ। मृतकहरूको मुखमा चोट लागेको, लुगाहरू च्यातिएको, र घटनास्थलमा राखिएको जस्तो देखिएको उनले बताए। उनले घटनामा जबर्जस्तीको आशंका रहेको र पोष्टमार्टम रिपोर्टपछि थप विवरण आउन सक्ने बताए।

दुवै किशोरीको शव करिब २० मिटरको दूरीमा फेला परेको थियो। उनीहरूका बाबुहरू भारतमा कार्यरत छन् भने दुवै जना स्थानीय विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए।

घटनाको गम्भीरताका कारण गाउँपालिकाले थप अनुसन्धान र सुरक्षाकर्मीको सहयोग माग गरेको छ।