अमेरिकी सहयोग निकाय यूएसएडको अनुदानमा सञ्चालन भइरहेका चारवटा परियोजनाको काम रोक्न र थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ। यूएसएडले यी परियोजनाहरूको अनुदान सहयोग ९० दिनका लागि रोकिएको जानकारी गराएपछि अर्थ मन्त्रालयले यो निर्णय लिएको हो।
सन् २०२२ को मे ५ मा नेपाल सरकार र यूएसएडबीच हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट अन्तर्गत यूएसएड स्वास्थ्य, कृषि, शिक्षा, र समावेशी नीतिसम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाहरू सञ्चालन हुँदै आएका थिए। तर, यूएसएडले अनुदान सहयोग रोक्ने निर्णयसँगै यी परियोजनाहरूको काम प्रभावित भएको छ।
यूएसएडले दिएको जानकारीअनुसार अनुदान स्थगित भएका परियोजनाहरूसँग सम्बन्धित कुनै नयाँ दायित्व सिर्जना नगर्न सबै सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। अर्थ मन्त्रालयले पनि पत्र पठाउँदै आगामी ९० दिनभित्र यी परियोजनाहरूको स्रोततर्फ कुनै नयाँ दायित्व नलाग्ने सुनिश्चित गर्न भनेको छ।
अमेरिकी अनुदान कटौतीको यो निर्णय पछिल्लो समय डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि विश्वभर भइरहेको अनुदान कटौती नीतिको परिणाम भएको बताइएको छ।