नेपालको टेलिकम बजारमा सक्रिय एनसेलले पछिल्लो समय ग्राहक संख्या गुमाउँदै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको रिपोर्टअनुसार, २०८१ मंसिर महिनाको तुलनामा पौष महिनामा एनसेलका दुई लाखभन्दा बढी ग्राहक घटेका छन्।
मंसिरमा एनसेलसँग १ करोड ४९ लाख ४४ हजार ९२७ ग्राहक थिए भने पौषसम्म यो संख्या घटेर १ करोड ४७ लाख ३७ हजार २०५ मा झरेको हो। यसका कारण एनसेलको बजार हिस्सामा पनि कमी आएको देखिन्छ। मंसिरमा एनसेलको बजार हिस्सा ४९.५५२ प्रतिशत थियो, जुन पौषमा घटेर ४९.१९८ प्रतिशतमा झरेको छ।
विपरीत, नेपाल टेलिकमले भने ग्राहक संख्या बढाउँदै आफ्नो बजार हिस्सालाई बलियो बनाउँदै गएको छ। टेलिकमको ग्राहक संख्या मंसिरमा १ करोड ५२ लाख १३ हजार ८५० थियो, जुन पौषमा बढेर १ करोड ५२ लाख १६ हजार ४५० पुगेको छ। यसको बजार हिस्सा ५०.४४४ प्रतिशतबाट ५०.७९८ प्रतिशतमा पुगेको छ।
ग्राहक घट्ने कारणहरू
एनसेलको ग्राहक संख्यामा कमी आउनुमा कम्पनीको विगतका विवादहरू मुख्य कारण भएको बताइन्छ। आयकर छली प्रकरणले कम्पनीप्रति प्रयोगकर्तामा नकारात्मक धारणा सिर्जना गरेको थियो। त्यसमाथि, माउ कम्पनी बिक्रीका क्रममा कानुन उल्लंघन र कर छलीसम्बन्धी विषयले स्थिति झन् गम्भीर बनायो।
त्यस्तै, एनसेलले ‘रिचार्ज भ्यालिडिटी’ घटाउने नीति लागू गरेपछि प्रयोगकर्ताहरू असन्तुष्ट बने। आलोचना भएपछि कम्पनीले आफ्नो नीति सच्याउँदै नेपाल टेलिकम सरह नै रिचार्जको मान्य अवधि कायम गरेको छ। तर, यो सुधार पनि ग्राहकहरूको विश्वास पुनःस्थापना गर्न पर्याप्त नभएको देखिन्छ।
एनसेलको ग्राहक संख्यामा आएको गिरावटबारे बुझ्न कम्पनीका अधिकारीहरूलाई सम्पर्क गर्दा उनीहरू टिप्पणी गर्न इच्छुक देखिएनन्।
नयाँ नीति र चुनौती
हालै एनसेलले आफ्नो रिचार्ज भ्यालिडिटीलाई संशोधन गर्दै ग्राहकलाई ५० रुपैयाँदेखि १ हजार रुपैयाँभन्दा माथिको रिचार्जमा ३० दिनदेखि ७३० दिनसम्मको मान्य अवधि दिने नीति अपनाएको छ। यद्यपि, यसले ग्राहकको घट्दो विश्वास फर्काउन कत्तिको सफल हुनेछ भन्ने समयले देखाउने छ।