काठमाडौं – बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्षको जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन ।
काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले अन्तिम फैसलासँगै राष्ट्रिय टीमबाट अलग भएको जानकारी क्यानलाई दिएका हुन । उनले क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खडकालाई पत्र लेख्दै राष्ट्रिय टिमबाट बाहिरिएको बताएका हुन ।
क्यानलाई लेखेका पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेका छन ।
अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट संघले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो ।
बागमतीले हिजो रित गौतमको कप्तानीमा घोषणा गरेको १४ सदस्यीय क्रिकेट टिममा सन्दीपलाई समावेश गरिएको छैन ।
नेपाल क्रिकेट संघले सन्दीपलाई राष्ट्रिय क्रिकेटमा समावेश गर्ने नगर्ने कुरा अदालतको अन्तिम फैसलापछि निर्णय गरिने बताउँदै आएको थियो ।