Aafno Khabar

एनपीएल फाइनलमा सुदूरपश्चिमको ह्याट्रिक, उपाधि भिडन्त लुम्बिनीसँगै

  • आफ्नो खबर
  • November 19, 2026 प्रकाशित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ। एनपीएलमा लगातार तीन वटा फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो।

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फेरि लुम्बिनीसँगको भेट पक्का गरेको छ।

सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्नेछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग नै ६ विकेटले पराजित भएको थियो। लिग चरणको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनीसँग नै सात विकेटको हार बेहोरेको थियो। गत सिजनको फाइनलमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमसँग पराजित भएपछि पहिलो पटक क्वालिफायरमा पुगेको चितवन उपाधिबाट टाढिएको छ।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले एक बल अगावै सात विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले सर्वाधिक ५३ रनमा अविजित रहे।

रन्जित कुमारले दुई विकेट लिए। कमल ऐरी, सलाहुद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३३ रनको योगफल तयार पारेको थियो। चितवनका लागि डविड मलानले ७१ रनको अविजित पारी खेले।