पर्वत । कुश्मा नगरपालिकाको मेयरका लागि गणेश प्रसाद शर्माले रास्वपा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि सक्रिय राजनीतिमा लागेका शर्मा पार्टीको पर्वत जिल्ला पदाधिकारी समेत हुन ।
आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्न रास्वपाले अघि सारेको नवीनतम अवधारणामा शर्माले आवेदन दिएका हुन ।
लामो समयदेखि प्रजातान्त्रिक बिचारधारमा रहेका शर्माले ग्रामिण क्षेत्रको विकासका लागि विभिन्न अनुसन्धानात्मक काम गर्दै आएका छन । व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका शर्माले कुश्मा नगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी हुने बताएका छन ।
राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व तयार पार्न पार्टीले अगाडी सारेको यो विधिमार्फत योग्य र सक्षम उम्मेदवार प्राप्त हुने उनको विश्वास छ ।
रास्वपाले उम्मेदवार आकांक्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र योग्यता परीक्षण गर्न पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब गरी दुई तहको क्लब गठन गरेको छ ।
क्लबमा आबद्ध हुन चाहने आकांक्षीहरूका लागि संवैधानिक, कानुनी तथा पार्टीको विधान बमोजिमको योग्यता हुनुपर्ने व्यवस्था रास्वपाले छ । यसका साथै उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा स्वघोषणा फारम भर्नुपर्नेछ ।