Aafno Khabar

नारायणी महोत्सवमा आज शनिबार दर्शकको घुईंचो

  • आफ्नो खबर
  • November 22, 2026 प्रकाशित

चितवन।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा मंसिर ३ गतदेखि जारी नारायणी महोत्सवको तेश्रो दिन शनिबार दर्शकहरुको घुईंचो लागेको छ ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा जारी महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।

महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिएको छ । उक्त गेटमा फोटो भिडियो खिच्नेहरुको आकर्षण देखिन्छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । त्यसैगरी ३६० डिग्रि राइड -रोटेपिङ्) महोत्सवमा राखिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिएका छन् ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिएको छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय संस्कृतीको जगर्नेमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग सहकार्यमा गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सिमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ । बाढीका कारण कुरुप र विजोक अवस्थामा पुगेको नारायणी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सुरु गरेको हो ।

महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।