काठमाडौं । इंग्लिश क्लब म्यानचेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको हो । यसअघि पीएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो ।
म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे । जारी सिजनको इंग्लिश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाईनलमा पुर्याएका हुन् ।
म्यान सिटीले अब फाइनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाईनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।