काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार र आइतबारका लागि तय भएका खेलहरु स्थगित भएका छन ।
अखिल नेपाल फुटबल संघ एन्फाले खराब मौषमको कारण देखाउदै शनिबार र आइतबारको खेलहरु स्थगित गरिएको जनाएको छ । लिगको पाँचौं चरण अन्तर्गत शनिबार साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो ।
यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो । वर्षाको कारण मैदान खराब भएको कारण एन्फाको लिग कमिटिको आपतकालीन बैठकले लिग दुई दिन सार्ने निर्णय गरेको हो । अब लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ ।
जस अनुसार सोमबार मनाङ र मछिन्द्र तथा एनआरटी र जावलाखेलबीच खेल हुनेछ । यस्तै मंगलबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । पाँचौ चरणको सबै खेल दशरथ रंगशालामा हुनेछ ।