काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गरे । संकटाका अमित तामाङले एक गोल फर्काए । खेलमा सुमन म्यान अफ दि म्याच चुनिए । आजै भएको अर्को खेलमा आर्मीले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।
अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक खेल खेलेपनि पहिलो हाफमा आर्मीले गोल गर्न सकेन् । जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।
लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ । यस्तै पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटाको यो दोस्रो हार हो । संकटा लिगको दशौँ स्थानमा छ ।