Aafno Khabar

साफ च्याम्पियनसीपको तयारीका लागि फुटबल टिम कतार प्रस्थान

  • आफ्नो खबर
  • २०७८ भाद्र २५ गते १२:२५ प्रकाशित

काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । कतार एअरवेजबाट टिम कतार प्रस्थान गरेको हो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् ।

कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ । १३ औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।