Aafno Khabar

मेस्सी पुन: बार्सिलाेनामा, औपचारिकता मात्र बाँकी

  • आफ्नो खबर
  • २०७८ असार ३१ गते १२:४८ प्रकाशित

काठमाडाैं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामा रहन तयार भएका छन् ।

केही समय अघिमात्र अर्जेन्टिनालाई कोपा अमेरिका जिताएर करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामा रहन तयार भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन् । कोपा अमेरिकामा च्याम्पियन बनेपछि हाल उनी छुट्टीमा छन् ।

जुन महिनाको अन्त्यमा करार सकिएकाे थियो । जुन ३० मा मेस्सीको करार सकिएपछि बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा मेस्सीसँग पुन: करार गर्ने प्रयासमा थिए । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरुबीच सहमति भइसकेकाे र अब घाेषणा हुनमात्र बाँकी छ ।

बार्सिलोनासँग मेस्सीको नयाँ करार लगभग ५ वर्षको हुने पनि विश्वास गरिएकाे छ ।

सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए । जसका लागि उनले बोर्डलाई फ्याक्स गरी आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए ।

यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज बढी भएको कारण उनी बार्सिलोनामा रहन बाध्य भए । यही जुन महिना सकिएपछि बार्सिलोना पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी फ्री भएका थिए ।

३४ वर्षीय मेस्सी सन् २००० देखि बार्सिलोनामा छन् । बार्सिलोनाको एकेडेमीबाट आएका मेस्सीले क्लबका लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।