Aafno Khabar

अविश्वास प्रस्ताव छलेर ताला-चाबी लिन खोज्दा यसरी फसे पोखरेल !

  • आफ्नो खबर
  • २०७८ बैशाख १९ गते १६:४१ प्रकाशित

काठमाडौं । राजीनामा दिएको १२ घण्टा नबित्दै प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन नियुक्त भएपछि लुम्बिनी प्रदेशमा असन्तुष्टी देखिएको छ । पोखरेल पुन मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका एक जना सांसदले राजीनामा दिएका छन् भने उनले आफ्नो पक्षमा गणना गरेका दुई सांसदले उनको साथ छाडेका छन् । कपिलवस्तु–२  (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले भने राजीनामा दिएका छन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

आज बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै बहुमतको सरकार बनाउने योजनाका साथ राजीनामा दिएका थिए। आजै टेबुल हुने भनिएको अविश्वास प्रस्तावलाई छल्नका लागि राजीनामा दिएर बहुमतको सरकार गठनमा लागेका पोखरेलको चलाखी पनलाई फेल बनाउन उनकै पार्टीभित्र खेल सुरु भएको थियो ।

आजै दिउँसो नेकपाबाट निर्वाचित सांसद विमला वली (खत्री)ले आफूले माओवादी केन्द्र रोजेको बताएकी थिइन्। त्यसपछि बहुमत गुमाएका पोखरेलले सरकार गठनको बाटो छोड्ने आँकलन गरिएको थियो । तर आफ्नो पक्षमा बहुमत नहुँदा नहुँदै पनि प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि एमालेका थप एक सांसदले पदबाट राजीनामा दिएका छन् । योसँगै पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ। साथै उनी मुख्यमन्त्रीमा रहिरहनका लागि आवश्यक बहुमत पनि छैन् ।

राजनीतिमा चतुर खेलाडीको परिचय बनाएका पोखरेल अविश्वासको प्रस्ताव छलेर नयाँ सरकारको ताला चाबी लिन खोज्दा नराम्ररी फसेको विश्लेषण हुन थालेको छ । असंवैधानिक रुपमा गठन भएको पोखरेल नेतृत्वको सरकारको भविष्य के हुने होला त्यो हेर्न बाँकी छ ।