Aafno Khabar

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

  • २०७६ पुष ९ गते ०४:३३ प्रकाशित

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् ।

लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

राष्टिय फुटबल टिमका अधिकांश अनुहार अनुबन्धन गरेको मछिन्द्र लिगको प्रमुख दाबेदार टिम हो ।

नयाँ सिजन तीन ब्राजिलियन खेलाडी राखेर पनि फ्रेन्ड्सले अपेक्षित प्रर्दशन गर्न सकेको छैन । युवा खेलाडीले समेत प्रभाव जमाउन नसक्दा फ्रेन्ड्स लिगमा अंक विहिन छ ।

मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

च्यासल लिगको अर्को दाबेदार टिमको रुपमा देखिएको छ । पहिलो खेलमा संकटालाई २–० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसंग अन्तिम समयमा अंक बाँडेको थियो ।

भेट्रान फरवार्ड सन्तोष शाहुखल नेतृत्वमा रहेको च्यासलले राष्ट्रिय टिमका केही अनुहार समावेश गर्दै सन्तुलित टिम बनाएको छ । तीन जापानी खेलाडीको प्रभावमा च्यासलले नयाँ सिजनको लिगमा राम्रो नतिजा निकाल्ने देखाएको छ ।

यस्तै, पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटी लिगको बलियो टिम च्यासललाई निराश बनाउने लक्ष्यमा हुनेछ । शाक्यले गत सिजन च्यासलबाट ए डिभिजन लिगमा प्रतिनिधित्व गरेका थिए ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।