काठमाडौँ । असत्यमाथि सत्य र दानवीय शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक बडा दसैँको मुख्य दिन आज विजयादशमी पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । आज घरघरमा अग्रज तथा मान्यजनको हातबाट नवदुर्गाको महाप्रसादका रूपमा रातो अक्षताको टीका र पहेँलो जमरा लगाई दीर्घायु, आरोग्य र प्रगतिको आशीर्वाद ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमा बिहान देवी विसर्जन गरिएपछि टीका-प्रसाद लगाउने क्रम सुरु भएको छ । आफन्त र मान्यजनकहाँ टीका थाप्न जानेहरूको चहलपहलले सडक, टोल र गाउँबस्तीमा विशेष रौनक छाएको छ ।
नेपालमा विजयादशमीको दिनदेखि सुरु हुने टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकताको नमुनाका रूपमा विजयादशमीले नेपाली समाजलाई जोड्दै आएको छ ।