Aafno Khabar

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

  • आफ्नो खबर
  • June 19, 2025 प्रकाशित

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार राईनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्ध भत्ता बाडेको हो । राईनास नगरपालिका यो मात्र होइन अन्य विषयमा पनि विवादित रहँदै आएको छ ।

नगरपालिकाले विनियोजन गरेको बजेट तथा कार्यक्रममा पनि स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका छन् । नगरपालिकाका मेयर खड्ग बहादुर गुरुङले आफ्नो क्षेत्रलाई मात्र प्राथमिकता राखेर कार्य सञ्चालन गर्दा नगरपालिकाका अन्य भेगहरू रुष्ट देखिएका छन् ।

मेयर गुरुङ राईनासकोटका स्थानीय हुन । उनले राईनासलाई मात्र प्राथमिकता दिँदा अनावश्यक पालिकालाई भार पर्ने गरी रकम विनियोजन तथा खर्च गर्दै आएको पालिकाका जनप्रतिनिधिहरू बताउँछन् ।

मेयर गुरुङले पालिकामा काम गर्ने सवालमा पनि आफ्नो स्वार्थ बाझिने गरी काम गर्दै आएको नाम बताइएको छ । राईनास नगर कार्यसमितिका एक जना सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘राईनास नगरपालिका भन्दा पनि मेयर खड्ग बहादुर गुरुङको घर जस्तो भएको छ ।’

मेयर गुरुङले आफ्नो इच्छा नभएको क्षेत्र तथा कार्यमा काम गर्न सहयोग नै नगर्ने पालिका कर्मचारीहरू बताउँछन् । आम नागरिकलाई काम हुन्छ भनेर भन्ने तर, कानुनी रूपमा काम गर्नका लागि पालिकामा सहयोग नगर्ने ती कर्मचारीले गुनासो गरे ।

मेयर गुरुङको यहीँ शैलीका कारण पालिकामा हरेक वर्ष बेरुजु रकम पनि बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो पालिकाका गैर कानुनी काम बढेको प्रतिवेदनले देखाएको छ ।