काठमाडौं । बजारमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट खिचेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरे पनि बैंक तथा वित्तीय संस्थाहरूले १५ अर्ब ५० करोड रुपैयाँ मात्र आवेदन दिएका थिए।
राष्ट्र बैंकका अनुसार १२ वटा बैंक तथा वित्तीय संस्थाले १५ वटा प्रस्ताव पेश गरेका थिए। बैंकहरूले न्यूनतम २.९७२२ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए। राष्ट्र बैंकले २.९९०२ प्रतिशतको भारित औसत ब्याजदर कायम गर्दै संकलित रकम २१ दिनका लागि राखेको छ। संकलित रकम फागुन ६ गते बैंकहरूलाई सावाँ तथा ब्याजसहित फिर्ता गरिनेछ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था छ।
बैंकिङ प्रणालीमा अत्यधिक तरलता हुँदा त्यसलाई केही समयका लागि हटाउन नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्छ, जसमा निक्षेप संकलन बोलकबोल पनि एक विधि हो। यस प्रक्रियामा बैंकहरूबाट निश्चित ब्याजदरमा राष्ट्र बैंकले रकम संकलन गर्छ, जसले तरलता व्यवस्थापन गर्न मद्दत गर्छ।
बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूले आफू राख्न चाहेको रकम र ब्याजदर प्रस्ताव गर्छन्। राष्ट्र बैंकले कम ब्याजदरबाट सुरु गरी माग गरिएको रकमसम्म क्रमशः बाँडफाँड गर्छ। यदि समान ब्याजदरमा धेरै प्रस्ताव परेमा प्रो-राटा आधार (Pro-rata Basis) मा बाँडफाँड गरिन्छ।
निकालिएको निक्षेप संकलन रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन, तर SLR तथा तरलता अनुपात (Liquidity Ratio) मा समावेश गर्न सकिन्छ।