काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ ।
जापानी खानाका पारखीलाई लक्षित गर्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए ।
यो उत्सवमा जापानी खाना, पेय पदार्थ र संगीतको फरक स्वाद लिन सक्ने सञ्चालक अधिकारीले जानकारी दिए । उत्सवलाई होक्काइडो नेपालले ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ को रुपमा लिएको बताएको छ ।
‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पेय र खानाका लागि जम्मा हुन्छन् ।
अधिकारीले जापानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए ।
उत्सवमा खानाको परिकारअनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु तयार गरिएको छ । जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने सञ्चालक अधिकारीले बताए ।
एचएनबीजीले नेपालमा जापानी खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको यो गु्रपले उपत्यकाका विभिन्न क्षेत्रमा जापानी परिकारका रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।
बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् ।
होक्काइदोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइदो र्याडिसन होटल, होक्काइदो हाउस सानेपा र होक्काइदो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।