Aafno Khabar
add khanepani

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

  • आफ्नो खबर
  • June 24, 2023 प्रकाशित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ।

आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा ग¥यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।यस्तै डि लीडले नटआउट ४१ रन जोडे ।

त्यसअघि सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । सन्दीपले १० ओभरमा २ विकेट लिँदा ६० रन खर्चिए ।

त्यसअघि नेपाल ४४.३ ओभरमा १६७ रनमै अलआउट भयो । नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो ।

नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो।

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के ।

सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए । ललित राजवंशी शुन्य रनमा नटआउट रहे । नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो ।

नेपालको सुपरसिक्स सम्भावना सकिएसँगै समूहबाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।