काठमाडौं । नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारीलगायत विषय यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना निकाली यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जनाएको छ ।
योसंगै लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनले अन्ततः दर्ता पाउने भएका हुन् ।
यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो ।
योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् ।
नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ । यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन ।