काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ ।
उनीहरुलाई भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ ।
दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने विशेष अदालत स्रोतले जनाएको छ । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा विशेषले ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।