Aafno Khabar

माओवादी फुटको चर्चाका बिच ओली नारायणकाजीको रहस्यमय भेट

  • आफ्नो खबर
  • June 13, 2022 प्रकाशित

काठमाडौं । पदाधिकारी विवादको विषयलाई लिएर पार्टी फुटको नजिक पुगेको चर्चाका बिच एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजसँगै अलग भएका ओली र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको बताइएको छ । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका छन् ।

२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा खारेज गरेसँँगै ओली एमाले अध्यक्ष भए भने श्रेष्ठ माओवादी केन्द्रमा सक्रिय रहे । त्यसयता दुई नेताबीच एकाध पटक फोन सम्वाद भएको थियो भने एमसीसी पास गर्ने नगर्ने बहस चलेका बेला संसद भवन परिसरमा दुई दलका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको थियो । वान अन वान सम्वाद भने भएको थिएन ।

स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला एमालेले ३ जेठमा ९ महिना लामो संसद अवरोध अन्त्य गर्‍यो । संसद अवरोध अन्त्य गर्ने एमालेको कदमको स्वागत गर्ने क्रममा श्रेष्ठले वाम तालमेलको पक्षमा रहेको सन्देश दिएका थिए ।

आफ्नो पार्टीभित्र र अरु दलका नेताहरुसँग पनि वाम गठबन्धनको पक्षमा मत राख्दै आएका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार भने एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटमा दुई नेताबीच मुलुकको समग्र परिस्थितिसँगै वाम आन्दोलनबारे छलफल भएको थियो ।

सोमबार विहान ओलीलाई भेटेका श्रेष्ठले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका थिए । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपाललाई भेट्न श्रेष्ठ उनकै निवास कोटेश्वर पुगेका थिए । प्रतिनिधिसभा चुनावको सम्मुख र माओवादी केन्द्रभित्रको चरम विवादका बिच श्रेष्ठको सक्रियतालाई चासोका साथ हेरिएको छ ।