काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वस्थ नेपाली, स्वच्छ खानेपानी, आधुनिक उर्जा, उन्नत कृषि लगायत १७ प्रतिवद्धता अघि सारेको छ । जसमा आफ्ना जनप्रतिनिधि शासक होइन, जनताका सेवक हुनेदेखि सामाजिक जागरण र विकासका अभियन्ता हुने उल्लेख छ ।
त्यस्तै एमालेले आफ्नो नेतृत्वमा रहेका पालिका सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र भए कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ । धरहरा, रानीपोखरी, पोखरा बिमानस्थल, रेलसहितको कभर तस्बिर राखेर सार्वजनिक गरेको घोषणा पत्रमा बाँकी कामका योजनासमेत समेटिएको छ ।
एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नारा अघि सारेको छ । एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु समावेश गरिएको छ ।
एमालेले घोषणामत्रमा प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलब्ध गराउनुका साथै विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
यस्तै, सडक, हवाइ, जल, केबुलकार र रोपवे, दूरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने एमालेको प्रतिबद्धता छ ।
सत्तारुढ गठबन्धन दिशाहीन भएको आरोप लगाउँदै देशमा चौतर्फी संकट देखिएको र आगामी निर्वाचनमा आफ्नो पार्टीको विकल्प नरहेको समेत एमालको दाबी छ ।
घोषणापत्रमा ओली सरकारको समयमा उल्लेख्य काम भएको दाबी पनि एमालेले गरेको छ । ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील र सफल भएको उसले जनाएको छ ।
साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ उदाहरण स्थापित गरेको एमालेको भनाइ छ ।