Aafno Khabar

घ्यू तेल उत्पादक संघले भन्यो- खानेतेल घाटामा बेच्दैछौं

  • आफ्नो खबर
  • March 12, 2022 प्रकाशित

काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।

खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघको भनाइ छ । ‘सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ ।

यसमा रुस र युक्रेनको युद्धले थप मलजल गरेको छ,’ संघले भनेको छ, ‘गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयात समेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको छ ।’

अन्तर्राष्ट्रिय बजारको कच्चा पदार्थको मूल्यअनुसारको मूल्य स्थानीय बजारमा कायम राख्नै जटिल भएको पनि संघको भनाइ छ । रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आयातमा हुने ढुवानी लागत र डलरको विनिमय दरमा भएको उच्च वृद्धिको मारमा उद्योगीहरु परेको संघको भनाइ छ । खाने तेलको मूल्य भन्दा पनि आपूर्ति व्यवस्था नियमित गर्न जटिलता देखिएको भन्दै संघले भन्सार र महसुल दरमा सरकारले छुट दिनुपर्ने माग गरेको छ ।