काठमाडौं । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको छ ।
शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब ६ लाख आवेदकबाट ८३ करोड १२ लाख रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो माग गरिएको आवेदन भन्दा १५ गुणा बढी हो ।
संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्ड नेतृत्वविहीन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निस्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा छन् । यी कम्पनीहरुले अब क्रमशः अनुमति पाउने बोर्डले बताएको छ ।