काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव अगाडि नै गठबन्धन टुटाउनु पर्ने बाध्यता रहेको खुलाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमसीसीका कारण पनि गठबन्धन टुटाउनु पर्ने अवस्था आएको संकेत गरेका हुन् ।
गत साउन ९ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस किसिमको अभिव्यक्ति दिएका थिए ।
त्यो बेला उनले ‘ठूलै लडाइँ जितेर संविधानको रक्षा गर्ने ठाउँमा त आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्ताका साथ सामना गर्नुछ, सजिलो छैन ।’ ‘गठबन्धन टुटाउने प्रयास भयो, बचाउने प्रयास ग¥यौँ । अहिले पनि भत्काउने प्रयास भइरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदैछ ।’ भन्ने अभिव्यक्ति दिएका थिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ६ महिनाअघि गरेको यो आँकलनभन्दा फरक स्थिति अहिले पनि देखिएको छैन । त्यसैले अहिले पनि अध्यक्ष प्रचण्डले बारम्बार सोही किसिमको अभिव्यक्ति दिन छाडेका छैनन् ।
गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेका गोटीले पनि यसलाई पुष्टि गर्छ । आफ्नो नेतृत्वको सरकार हटाउन बनेको गठबन्धन र उक्त गठबन्धनमार्फत बनेको सरकारप्रति नेकपा एमालेको दृष्टिकोण सकारात्मक छैन ।
त्यसैले उसले लगातार संसद् चल्न नदिएर होस् वा एमसीसीमा मौनता साँधेर नै किन नहोस्, सत्ता गठबन्धन टुटाउने र सरकारलाई असफल पार्ने घोषित प्रयास गरिरहेको छ ।
आफ्नो नेतृत्वको सरकारले ल्याएको एमसीसीलाई गठबन्धन टुटाएर भए पनि संसदबाट पास गराउने योजनामा प्रधानमन्त्री रहेको विश्लेषण पनि हुन थालेका छन् ।
कांग्रेसका जिम्मेवार नेताहरुको पछिल्लो अभिव्यक्तिले पनि यसलाई पुष्टि गर्छ । बुधबार मात्रै कांग्रेस नेता मिनेन्द्र रिजालले गठबन्धन सधैभरीका लागि नभएको बताएका थिए ।