काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा युरोकप विजेता इटली र क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल एउटै समूहमा परेका छन ।
शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका हुन् । यसको अर्थ यो समूहबाट टर्की, इटली, नर्थ म्यासेडोनिया र पोर्चुगलमध्ये अब एक राष्ट्रले मात्र विश्वकप खेल्नेछ ।
प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् र विजेता विश्वकपमा छनोट हुनेछ ।
प्लेअफमा कुल १२ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा स्कटल्याण्ड र युक्रेन तथा वेल्स र अष्ट्रिया बीच पहिलो खेल हुनेछ ।
विजेताबीच फाइनल खेल हुनेछ । यसैगरी समूहमा बी मा रुस र पोल्याण्ड तथा स्वीडेन र चेक रिपब्लिक पहिलो खेलमा खेल्नेछ । विजेता टिमहरु बीच फाइनल खेल हुनेछ ।