Aafno Khabar

एमाले विधान महाधिवेशनप्रति भट्टराईकाे टिप्पणी : ओलीकाे कुम्भमेला, लूटकाे धन, फुपूकाे श्राद्ध

  • आफ्नो खबर
  • October 2, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओलीको कुम्भमेला’ भनेका छन् । उनले यसलाई निभ्ने बेलाको चमकका रुपमा चित्रितसमेत गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको क्रममा सहभागीले उचालेको ओलीको तस्बिर पोस्ट गर्दै व्यंग्य गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि नेकपा एमालेकाे विधान महाधिवेशन भइरहेकाे छ । विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।