Aafno Khabar

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक : संसद्को अवरोध हटाउने विषय छलफल हुने

  • आफ्नो खबर
  • September 30, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि सभामुखले बाेलाएकाे बैठक बहिष्कार गरेकाे नेकपा एमाले पनि प्रधानमन्त्रीले बाेलाएकाे बैठकमा सहभागी हुने बताइएकाे छ ।

संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएकाे छ ।

प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीतिसहित बैठक बाेलाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयास पनि गरेका थिए ।