कास्की। नेकपा एमाले विभाजन अघि माधव नेपालका मुख्य सहयोगीका रुपमा रहेका नेता सुरेन्द्र पाण्डेले नेपाल समूह एमालेमा फर्किए अझै पनि क्षमादान दिने बताएका छन् ।
मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपालले एमाले विभाजन गरेर गम्भिर गल्ती गरेको आरोप लगाए । पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने । केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए ।
नेपालले पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो । पार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ ।
देशैभरिको स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सानी हुने पाण्डेले बताए । आउँदो चुनावमा कास्कीमा एमालेले रचेको इतिहास कायम गर्न लाग्न पाण्डेले आग्रह गरे ।