काठमाडाैं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) सर्वसाधारणका लागि बुधबारदेखि खुलेको छ।
प्रति शेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निष्काशन भएकाे हाे । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ । यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ ।
यस कम्पनीले तेह्रथुम जिल्लामा माथिल्लो खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरिरहेको छ । जुन आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट १७ करोड ८८ लाख रुपैयाँ छ ।
कुल ७.५ मेगावाट क्षमताको यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड रहेको छ । लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.६६ वर्ष छ ।
यस कम्पनीलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले दायित्व वहनका लागि कम्पनी औसत मध्यमस्तरमा रहेको जनाउँछ । आयोजनाबाट २०७६ फागुनदेखि व्यवसायिक उत्पादन भइसकेको प्रबन्धपत्रमा उल्लेख छ ।
कम्पनीले २ मेगावाट क्षमताको अर्को खोरुङ्गा-ताङमाया खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा छ । कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहने बताइएकाे छ ।