Aafno Khabar

चन्द्रागिरी रिसाेर्टमा माधव नेपाल, एकता पक्षधरले मन भाँडिदिने डर

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

नेकपा एमालेबाट छुट्टिएर भदाै ९ गते पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपालले आफू पक्षका नेताहरू लिएर चन्द्रागिरी रिसाेर्ट पुगेकाे निकट स्राेतले जानकारी दिएकाे छ ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

साेमबार नै नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि भेटवार्ता भएकाे छ ।

दल दर्ताकाे दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् । नेता नेपाल साेमबार रिसोर्टमै बस्नेछन् ।

स्रोतका अनुसार रिसोर्टमा झण्डै सय जनाका लागि कोठा बुक गरिएको छ । नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन् । उनीहरू बुधबार बिहानसम्मै चन्द्रागिरिमा बस्ने स्रोतको दाबी छ ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ ।

माधव नेपालसँग नगएका एमालेका नेताहरूले साेमबार अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा छलफल गरेका थिए । ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र मंगलबार बिहान स्थायी कमिटी बैठक बस्ने बताइएकाे छ ।

यस्ताे परिस्थितिमा अन्य नेताहरुकाे ध्यान नभड्कियाेस् भन्नका लागि नेपालले चन्द्रागिरीमा आफू निकट नेता लान खाेजेकाे बुझिएकाे छ । त्यहीँबाट बुधबार दल दर्ता गर्नका लागि जाने अनुमान पनि गरिएकाे छ ।