काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी)मा रहेको बताएका छन् ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पालतमा उपचार गराइरहेका नेता खनालले सामाजिक सञ्जालमार्फत आफू माधव नेपाल नेतृत्वको पार्टीमा रहेको जानकारी गराएका हुन् ।
खनालकाे सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकाे छ ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’
नेता नेपालले शुक्रबार राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नेकपा एकीकृत समाजवादी नामकाे पार्टी दर्ता गराएका छन् । यसअघि बिहीबार नेकपा एमाले सामाजवादी नामक पार्टी दर्ता गर्न खाेजे पनि उक्त नाम निर्वाचन आयाेगले स्वीकृत नगरेपछि पुन: नाम फेरिएकाे हाे ।
बिहीबार ९५ सदस्यीय केन्द्रीय कमिटी बनाइएकाे भए पनि शुक्रबार विस्तार गरेर ११५ पुर्याइएको छ । याे पार्टीकाे चुनाव चिन्ह भने तय भएको छैन ।