काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालको पार्टीको नाम परिवर्तन भएकाे छ । शुक्रबार निर्वाचन आयोगमा माधव नेपाल समूहका नेताहरु नयाँ नाम लिएर गरेका हुन् ।
यसअघि नेकपा उक्त पार्टीकाे नाम एमाले (समाजवादी) राखिएको थियो । शुक्रबार नाम संशोधन गरी ‘नेकपा एकीकृत समाजवादी’ राखिएको हो ।
यसअघि दर्ता भएको नाम मूल पार्टीसँग मिलेपछि अस्वीकार हुने बताइएको थियो । आयोगले नाम अस्वीकार नगरी नेपाल समूहले नाम संशोधन गरेको हो । निर्वाचन आयोगका अधिकारीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका थिए ।
माधव नेपाल समूहकाे पार्टीकाे नाम फेरिएपछि महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम पनि फेरिएको छ । निर्वाचन आयोगमा पुगेर शुक्रबार पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि पुनः निवेदन दिइएकाे हाे ।
बिहीबार मात्र जसपासँग मिल्दो नाम ठाकुरलाई नदिन माग गरी आयोगमा निवेदन परेको थियो । आयोगको आग्रहमा ठाकुर समूहले शुक्रबार नाम परिवर्तन गरेको हो । यसअघि ठाकुर समूहले पार्टीकाे नाम जसपा लोकतान्त्रिक राखेकाे थियाे ।