काठमाडौं । माधवकुमार नेपाल पक्षमा रहेका तर नेकपा एमाले पार्टी छाेड्न तयार नभएका ९ जना नेताले पुन: पार्टी एकताका लागि आह्वान गरेका छन् ।
भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले बिहीबार विज्ञप्ति जारी गरी एकताका लागि आह्वान गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा नेता नेपालसहित १४ जनालाई गर्ने भनिएको सबै प्रकारका कारवाही रद्द गरेर केही लचिलो बन्न अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौँ । पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारवाही लगायत सबै प्रकारका कारवाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौँ ।’
नेता नेपाल पक्षले बुधबार नेकपा एमाले (समाजवादी)दल दर्ताका लागि माग गरी निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
गएकाे फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् । उनका विश्वािसकाे पात्र मानिएका केही नेताहरुले उनकाे साथ छाेडिसकेका छन् ।