काठमाडाैं । केही समय अघिमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्का र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट भएकाे छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेकाे सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन् । देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङ्समा पनि सफलता मिलोस् भनेर पारस खड्कालाई शुभकामना पनि दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन् ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ ।’