काठमाडौं । नेपाललाई कोरोना विरुद्धको खोप कूल पाँच करोड ५० लाख डोज आवश्यक पर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
असोज मसान्तसम्म भुटानबाट सहयोग आउने समेत गरी एक करोड ८ लाख खोप उपलब्ध हुने र ३३ प्रतिशत खोप लगाउने लक्ष रहेको पनि श्रेष्ठले बताए ।
‘जनतालाई निशुल्क खोप उपलब्ध गराउने सरकारको योजना अनुसार सरकारले खोप उपलब्धताको तयारी गरिरहेको छ । हालसम्म ९७ लाख खोप प्राप्त भएको छ । पछिल्लो १८ महिनासम्म ४२ लाखले खोप लगाएका थिए । नयाँ सरकार आएपछि ७५ लाख खोप लगाइएको छ । अब दैनिक एकदेखि दुई लाख खोप लगाउने तयारी भइरहेकाे छ,’ मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले नागरिकको स्वास्थ्य राज्यको प्राथकिता भएकोले सुधार गर्नु पर्ने धेरै काम रहेको पनि बताए । श्रेष्ठले भने ‘स्वास्थ्य क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन लक्ष लिनुपर्छ । ठूला अस्पताललाई स्तरोन्नती गर्न आवश्यक छ । स्वास्थ्यमा दरबन्दी कम छ । स्थानीय देखि केन्द्रसम्म दरबन्धी बढाउनु आवश्यक छ ।’
सरकारले संक्रमण बढी भएको १५/१६ जिल्लामा खोपको विशेष ब्यवस्था गर्ने तयारी गरिरहेकाे जानकारी पनि उनले दिए ।
श्रेष्ठका अनुसार अब खोप केन्द्र बढाइने छ । विदेश जानेलाई खोपसहित प्रमाणपत्र छिटो दिइनेछ । आवश्यक खोप खरिदको लागि ब्यवस्था भइरहेको छ । खोपका लागि गाउँमा स्वयंसेवक परिचालन गरिनेछ । १८ वर्षदेखि ३० वर्षको विद्यार्थीलाई छिट्टै खोप दिइनेछ । कोभिड लागेकालाई निशुल्क अक्सिजनको ब्यवस्था गरिनेछ । छिट्टै वीर अस्पतामला पाँचसय वेडको कोभिड अस्पताल बनाइनेछ ।