Aafno Khabar

‘१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट’

  • आफ्नो खबर
  • July 29, 2021 प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको जनाएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको छ ।

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको डब्लूएचओका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको तथ्यांक छ ।

कतिपय देशमा भने कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ । पछिल्लो साता अघिल्लो साताभन्दा बढी मानिसले संक्रमणका कारण ज्यान गुमाएका छन् । सङ्क्रमितको कुल सङ्ख्याका आधारमा अमेरिका सबभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले पछ्याइरहेका छन् ।