काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी र देशले प्रतिगमन स्वीकार्न नसक्ने स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत पाण्डेले व्यवस्था परिवर्तनको नाममा फेरि २०-२५ वर्ष मुलुकलाई पछाडि धकेल्न नहुने बताएका हुन् ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको धारणा सार्वजनिक गरेपछि आलोचना भइरहेको छ ।
पाण्डेले भनेका छन् ‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ। पार्टीमा अब यो पार्टीको स्थापनाकालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रगतिशील बनाउने स्पष्ट नीति तथा कार्यक्रमसहित दस्तावेज आउनेछ । ’
उनकाअनुसार अब बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । ‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ। ढुक्क हुनुहोस्- पार्टी र देशले प्रतिगमन स्वीकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन,’ उनले भनेका छन्, ‘समाजलाई विभाजित गर्ने छैन । व्यवस्था परिवर्तनका नाममा २०-२५ वर्ष पछाडि धकेल्ने छैन ।’
उनले राप्रपा अध्यक्ष कमल थापा र नेकपा एमालेका नेताहरू महेश बस्नेत र गोकुल बाँस्कोटा खुसी हुन जरूरी नभएको पनि बताएका छन् । थापाले मिश्रको धारणा आफूहरूले उठाइआएकै एजेन्डा भएकोमा खुसी व्यक्त गरेका थिए भने बस्नेतले संघीयता खारेजीको प्रस्ताव एमाले बैठकमा गरेका थिए । बाँस्कोटा पनि संघीयता आवश्यक नभएको बताउने गर्छन् ।