काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीको रक्षामा उभिएका सम्पूर्ण समक्ष बधाई दिएका छन् ।
सोमबार निर्वाचन आयोगले पार्टी विवादको समाधानका लागि सनाखत गराएर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टी रक्षामा उत्रिएका सबैलाई धन्यवाद दिएका हुन् ।
आफ्नो पक्षले आधिकारिकता पाएपछि बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘हिमाल-पहाड-तराई/मधेसका सबै जाति/भाषा/समुदायको समावेसी/समानुपातिक प्रतिनिधित्व गर्ने सच्चा राष्ट्रिय पार्टीको रूपमा उदाउँदै गरेको जसपामाथि लाग्दै गएको ग्रहण निर्वाचन आयोगमा भएको केकाससको सनाखत (पक्ष-३४,विपक्ष-१६,तटस्थ-१) बाट अन्त्य भएको छ । पार्टीको रक्षामा उत्रिएका सबैलाई बधाइ/धन्यवाद !’
५१ जना कार्यकारिणी समिति सदस्यमध्ये ३४ जनाले पक्ष र १६ जनाले विपक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ बसेका थिए । पार्टीको आन्तरिक विवादमा हस्ताक्षर गर्न डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई कडा सुरक्षा घेराबीच आयोग लगिएको भए पनि उनले कुनै पक्षमा मतदान गरेनन् । उनी तटस्थ बसे ।