फाइल तस्बिर ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको हो ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
हस्ताक्षर सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले आयोग पुगेर हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे । नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगले जनाएकाे छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।