काठमाडौं । नेकपा (एमाले) एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार बिहानदेखि १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।
एमालेका सचिव प्रदीप ज्ञवालीले उक्त सहमतिको १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई पढेर सुनाएका थिए । कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन् ।
आइतबार बिहान ९ बजे सुरु बैठक १३ घण्टापछि सकिएको हो ।
पार्टी प्रवक्ता समेत रहेका वार्ता समिति सदस्य प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीे पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेकालाई नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको छ ।
यस्तै, कार्यदलले सदस्यता नविकरणका लागि कार्यदल गठनको निर्णयसमेत गरेको छ । सबै निर्णय अनुमोदनका लागि सोमबार बस्ने स्थायी कमिटी बैठकमा लगिनेछ ।