काठमाडाैं । विश्वविजेता फ्रान्समाथि जित निकालेर स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोमानियास्थित नेशनल एरेनामा साेमबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराएर स्वीजरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गरेकाे हाे ।
खेलको १५ औँ मिनेटमै ह्यारिस सेफरोभिचको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सका लागि करिम बेन्जेमाले ५७ औँ मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल खेल बराबरीमा ल्याए । त्यसअघि ५४ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा स्वीजरल्याण्डका रोड्रिगेज चुकेका थिए ।
त्यस्तै, ५९ औँ मिनेटमा फ्रान्सका लागि बेन्जेमााले अर्को गोल थप्दै अग्रता पनि दिलाए । खेलको ७५ औँ मिनेटमा फेरि फ्रान्सकै लागि पाउल पोग्वाले गोल थप्दा फ्रान्स ३-१ गोलअन्तरले अवस्थामा थियो । यद्यपि स्वीजरल्याण्डले खेलमा पुनरागमन गर्न सफल भयो । खेलको ८१ औँ मिनेटमा सेफेरोभिचले नै गोल गर्दा ९० औँ मिनेटमा मारियो मारिओ गाभरनोभिचले गोल गरे ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलियाे । तर, अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टीमा फ्रान्सका किलियन एम्बाप्पे चुकेपछि स्वीजरल्याण्डले क्वाटरफाइनमा स्थान सुरक्षित गरेको हो ।